१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट


२ जेठ, काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि छनोट भएका छन् । लैनचौरस्थित टेबल टेनिस हलमा आज भएको दक्षिण एसियाली छनोट प्रतियोगिताको पुरुष एकलतर्फको फाइनल खेलमा स्यान्टुले नेपालकै संयोग कपालीलाई ४–३ ले पराजित गर्दै ओलम्पिकमा छनोट भएका हुन् । योसँगै ओलम्पिकमा छनोट चरणबाट खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि नेपालबाट तेक्वान्दोका सङ्गीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका थिए । सङ्गीना सन् २००४ मा एथेन्स र दीपक सन् २००८ मा बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए ।

‘वेष्ट अफ सेभेन’मा भएको आजको खेलमा पहिलो सेट ११–७ अङ्कले आफ्नो पक्षमा पारेका स्यान्टु दोस्रो सेटमा ८–११ अङ्कले पराजित भए । त्यसपछिका दुई सेट ११–७ र ११–६ अङ्कले जित निकालेका स्यान्टुले पाँचौँ र छैटौँ सेट ८–११ र ८–११ अङ्कले गुमाए । अन्तिम सेट ११–९ अङ्कले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे ।

यसअघि स्यान्टुले श्रीलङ्कका चमिरा गिनिगे र संयोगले श्रीलङ्काकै जयसनका डी सिल्भालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार ०६:३७