१७ जेष्ठ २०८१, बिहीबार | Thu May 30 2024

मकालु आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु


३ जेठ, सङ्खुवासभा। मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकालु गाउँपालिका–२ मा आठ हजार तीन सय ५० को उचाइमा पुगेका फ्रान्सेली नागरिक सालिबा अचानक बिरामी पर्नुभएको थियो । उहाँको उद्धार गरी ल्याउने क्रममा बोटोमै आज बिहान ३ बजे मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो ।

पर्वतारोही सालिबाको शव हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको स्नोवी होराइजन टे«क्स एक्स्पिडिसनका प्रबन्धक निर्देशक बोधराज भण्डारीले बताउनुभयो । उहाँसँगै जानुभएका अन्य फ्रान्सेली नागरिक भने सकुशल रहेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ ।

एक साताअघि मकालु हिमाल आरोहण गरी फर्किने क्रममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार ०७:३४