१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

‘महाजात्रा’ ५१ औँ दिनमा, नेपाली चलचित्रप्रति दर्शकको माया बढ्यो

२०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाजात्रा’ शनिवार ५१औँ दिनमा प्रवेश गरेको छ। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले सिरिजकै रूपमा निर्माण गरेको यो चलचित्रले पनि अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गरेको हो ।

यसले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगन्जमा रहेको सिनेरोयलमा ५१ औँ दिनको यात्रा पार गरेको हो।

‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ। आगामी दिनमा दर्शकको भरोसालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने छौँ। षट्कोण आर्ट्समार्फत हामी आगामी दिनमा पनि स–परिवार एकसाथ हेर्न मिल्ने फिल्म ल्याउने छौँ’, चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले बताउनुभयो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन बनेको यस चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका यस चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।

यस चलचित्रका अभिनेता हरिवंश आचार्यले यो चलचित्र ५१ दिनसम्म पुग्नु नेपाली चलचित्रको सफलता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नेपाली चलचित्रको माहौल नै राम्रो बनिरहेको छ। नेपालमा नेपाली चलचित्र प्रतिको माया बढिरहेको छ।” ठूलोपर्दासँगको सहकार्य

प्रकाशित मिति : May 11, 2024 at 2:15 pm