१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

चतराधाममा चालिस लाखले स्नान र दर्शन गरे

२९ वैशाख, धरान । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते सुरु भएको हो । मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताउनुभयो ।

मेला आयोजना गर्न सङ्घीय सरकारले रु७० लाख र प्रदेश सरकारले रु ५५ लाख प्रदान गरेको थियो । मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । कुम्भस्नान गर्न जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुग्नुभएको थियो ।

प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक छ वर्षमा अर्धकुम्भ र बाह्र वर्षमा पूर्णकुम्भ मेला लाग्नेगरेको छ ।

प्रकाशित मिति : May 11, 2024 at 12:45 pm