५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैनः गगन थापा

२८ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति नबनेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाएका थिए ।  त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिए।

थापाले संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनैपनि कारबाही अगाडि बढाउने कुरामा कांग्रेसको साथ नहरने स्पष्ट पारे। “सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहदैन । यसको जिम्मेवार कांग्रेस होइन, सत्तापक्ष हो”, उनले भने । प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उनको भनाइ थियो ।

सांसद थापाले भनाइ राखेपछि सभामुखले बैठक सञ्चालन गर्दै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने क्रममा नेपाली कांग्रेसका सांसदहरु ‘रोष्ट्रम’ घेराउ गर्न पुगेका थिए । त्यसपछि सभामुख घिमिरेले आजको बैठक १५ मिनेटका लागि स्थगन गरेको घोषणा गरे ।

प्रकाशित मिति : May 10, 2024 at 4:48 pm