७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

संसदीय छानबिन समिति गठन गर्न प्रमुख प्रतिपक्षको माग


२८ वैशाख, काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारीको रकम अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा दलका तर्फबाट धारणा राख्दै नेता सिटौलाले उक्त समिति गठन नभए सदनका बैठक सञ्चालनमा सहजता नआउने स्पष्ट गरे । “संसदमा पटक–पटक संसदीय छानबिन समिति गठन गरौँ भनेर कुरा उठाउदै आएका छौँ”, उनले भने, “जहाँनिर शक्ति छ त्यहाँ छानबिन बन्द छ । गृहमन्त्रीको राजीनामा मागिएको छैन । कुरा उठेपछि वास्तविकता थाहा हुनुपर्छ ।”

उनले आफ्नो पार्टीको संसदीय दलको निर्णय पनि गृहमन्त्रीमाथिको छानबिन समिति बनाउनुपर्छ भन्ने रहेको बताउँदै समिति गठन नभए संसद् बैठक अघि बढ्न नसक्ने बताए । “सरकारले छिट्टै सहमतिका आधारमा छानबिन समिति बनाउँछ भन्नेमा हामीलाई विश्वास छ,” उनले भने ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १६:०७