६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

ट्रयाक्टर दुर्घटनामा परि एक विद्यार्थीको मृत्यु, ८ जना घाइते


२६ वैशाख, काठमाडाैँ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन् ।

खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए । दुर्घटनामा परी याङ्वरक–४ का नौ वर्षीय मानस तामाङको घटनास्थलमै ज्यान गएको हो । उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए ।

दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन् । घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार १४:५६