१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

नाम्सले आगामी आवदेखि एमबिबिएस पढाउने


२४ वैशाख, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक वर्षदेखि एमबिबिएस पढाउने भएको छ । प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित विशेष समारोहमा प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रबहादुर बस्नेतले आगामी आवदेखि एमबिबिएस कार्यक्रम सुरु गर्ने तयारी गरिएको बताउनुभयो । “हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्तिको अधिकतम उपयोगका साथै देशलाई आवश्यक चिकित्सक उत्पादन गर्न पनि हामीले आगामी आवबाट एमबिबिएस कार्यक्रम सुरु गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो, ।

प्रतिष्ठानले एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच र नर्सिङ तथा अलाइड साइन्सका विभिन्न ६८ शैक्षिक कार्यक्रम रहेका छन् । उहाँले सय जना विद्यार्थीलाई एमबिबिएस पठाउने गरी तयारी गरिएको बताउनुभयो । “हामीले एमबिबिएसका लागि पाठ्यक्रम पनि तयार बनाइसकेका छौँ । शिक्षक हामीसँग रहेका छन्,” उहाँले भन्नुभयो, “बेसिक साइन्स पठाउने भवन मात्र हामीलाई आवश्यक हो । त्यसको माग हामीले सरकारसमक्ष गरेका छौँ ।”

उहाँका अनुसार पहिलो र दोस्रो ब्याचमा भने ५०/५० जना विद्यार्थी भर्ना गर्दछाँै । प्रतिष्ठानको आफ्नै अस्पताल वीर अस्पताल रहेकामा यसलाई सेवासुविधा विस्तार गर्न  सरकारबाट पाँच सय ७० रोपनी जग्गा दुवाकोट प्राप्त भएको छ । उक्त स्थानमा एक हजार पाँच सय शय्याको सुपर स्पेसियालिटी अस्पतालसहित मेडिकल कलेज नर्सिङ कलेज तथा अन्य अलाइड हेल्थ साइन्सका कलेजहरुका साथै आवास गृह बनाउने योजनासहित गुरुयोजना तयार पारेको उपकुलपति डा बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा पाँच सय शय्याको अस्पताल र मेडिकल कलेज बनाइने छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ०७:५७