१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भिक्षु धर्ममूर्तिको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती समारोह समिति गठन


२१ वैशाख, काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन भएको छ ।

आगामी जेठ १० गते बुद्ध जयन्तीका दिन स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा मेलालाई व्यवस्थित र भक्तजनलाई सहज बनाउन समिति गठन गरिएको हो । उक्त समितिमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका–१५, महानगरीय प्रहरी प्रभाग स्वयम्भू, स्थानीय धार्मिक सङ्घसंस्थालगायतका प्रतिनिधि समावेश छन् ।

विश्वसम्पदा स्वयम्भूमा त्यस दिन पूजा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट करिब दुई लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ । महासमितिका महासचिव अशोक बुद्धाचार्यले यस वर्ष महायानी परम्पराअनुसार साकादावा पनि सोही दिन परेकाले दर्शन गर्न आउने भक्तजनको सुरक्षा र सहजतालाई विशेष ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ११:१३