१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन

२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन् ।

हालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गरेको भेटका क्रममा प्रधानमन्त्री दाहालले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा हेमराज पन्तले आज नियुक्तिपत्र बुझेसँगै प्रधानमन्त्री एवं कुलपति दाहाललाई भेट गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिए । “विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्य गरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु गरिएको छ,” प्रधानमन्त्री दाहालले भने, “यहाँहरूको नियुक्ति पनि सोहीअनुसार भएको हो, आ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला ।”

प्रधानमन्त्री दाहालले विश्वविद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिहरूलाई निर्देशन दिए।

प्रकाशित मिति : May 2, 2024 at 4:53 pm