२ असार २०८१, आईतवार | Sun Jun 16 2024

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण


१८ वैशाख काठमाडाैं । फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन) वितरण गरिएको छ ।

प्रदूषण रहित भान्छा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो । थापाठानामा सात सय घरधुरी रहेका छन् । तीमध्ये झन्डै एक सय घरधुरी बसाइँसराइ लगायत कारणले खाली छन् ।

मानिसको नियमित बसोबास रहेका सबै घरपरिवारलाई एक÷एक थान इन्डक्सन चुल्हो वितरण गरिएको फलेवास–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए । ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको एक कार्यक्रमबीच रोटरी क्लब अफ पोखरा फिस्टेललगायत संस्थाको सहयोगमा विद्युतीय चुल्हो वितरण गरिएको हो ।

सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएसँगै वडा नं २ लाई प्रदूषण मुक्त भान्छासहितको वडा घोषणासमेत गरिएको छ । सामाजिक सेवामा सक्रिय रोटरी क्लबले विविध शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा थापाठाना गाउँमा विद्युतीय चुल्हो वितरण गरेको रोटरी क्लब अफ पोखरा फिस्टेलका डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइरालाले जानकारी दिए । उनले विभिन्न पाँच चरणमा विद्युतीय चुल्हो वितरण गरिएको बताए । चुल्होसँगै यसमा प्रयोग गर्न मिल्ने भाँडा पनि वितरण गरिएको हो । चुल्होसहित अन्य भान्छामा प्रयोग हुने सामग्री प्रतिपरिवारलाई रु १० हजार बराबर वितरण गरिएको कोइरालाले बताए । झन्डै रु ६० लाख मूल्य बराबरको लागतमा चुल्होसहितका सामग्री वितरण गरिएको हो ।

यो वडामा रहेका सात सय घरपरिवारमध्ये त्यहाँ निरन्तर बसोबास गर्ने छ सयजनालाई प्राथमिकतामा पारेर चुल्हो वितरण गरिएको उनको भनाइ छ । यो चुल्होको प्रयोगले गृहिणीहरुको स्वास्थ्य अवस्थामा सुधार आउनाका साथै गाउँ पनि पूर्ण रुपमा स्वच्छ हुने अपेक्षा गरिएको छ । त्यसैगरी, बढ्दो वन विनाश रोकिनाका साथै विद्युत्को खपतसमेत बढ्ने भएको छ । चुल्हो वितरण कार्यक्रमसँगै वडा नं २ लाई प्रदूषणमुक्त घोषणा गर्दै नगरप्रमुख गङ्गाधर तिवारीले वडालाई प्रदूषणमुक्त वडा घोषणा गर्न सहयोग गरेकामा रोटरी क्लब अफ पोखरा फिस्टेललगायत दाताहरुको प्रशंसा गरे । उनले चुल्हो वितरण भएपछि अब गाउँ प्रदूषणमुक्त हुने र खासगरी भान्छाको काम गर्ने महिलाको स्वास्थ्य राम्रो हुँदै जाने विश्वास व्यक्त गरे । आफूले पाएको चुल्होलाई भरपुर रुपमा प्रयोग गर्न उनको आग्रह छ ।

ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष रामहरि श्रेष्ठले प्रदूषणमुक्त समाजको स्थापना गर्नका लागि रोटरी क्लबले थालेको अभियानमा सहयोग गर्न आग्रह गरे । उनले विद्युतीय चुल्होको भरपुर उपभोग गर्नसमेत आग्रह गरे । प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल डहरेदेउरालीको काखमा रहेको थापाठानामा सञ्चालित घरबास सेवा प्रभावकारी बन्दै गएको छ । स्वच्छ र हराभरा वातावरणले घरबासमा आउने पाहुनाको आकर्षण पनि बढ्ने भएकाले विद्युतीय चुल्होले थप टेवा पुग्ने नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १२:३३