१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

निजी क्षेत्रको पहिलो नेपाली चलचित्र ‘माइतीघर’का अभिनेता सिपी लोहनीको निधन

१७ वैशाख, काठमाडाैँ । निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र ‘माइतीघर’का प्रमुख अभिनेता सिपी लोहनी (चितम्बरमप्रसाद लोहनी)को सोमबार ८६ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा दिउसो १:३० बजे उनको निधन भएको हो।

उनी लामो समयदेखि अल्जाइमर्स बाट पीडित थिए। लोहनीको पार्थिव शरीरलाई सोमबार अपराह्न पशुपति आर्यघाटमा पण्डितले दागबत्ती दिँदै अन्त्येष्टि गरिएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले बताए। लोहनीकी एक छोरी छन्। हाल उनी मुम्बईमा रहेकी छन्।

चलचित्रमा आउनु अघि लोहनी गायक थिए। उनले रेडियो नेपालमा केही गीत रेकर्ड गरेका छन्। ‘माइतीघर’ चलचित्रका गीतमा पनि लोहनीले नै स्वर दिएका थिए। लोहनीले ‘माइतीघर’ चलचित्रकी नायिका माला सिन्हासँग विवाह गरेका थिए। चलचित्रमा अभिनयको दौरान उनीहरू प्रेममा परेका थिए। सिन्हा नेपाली मूलकी भारतीय अभिनेत्री हुन्। मालाकी आमा नेपाली थिइन्। माला पछिल्लो समय चलचित्रमा सक्रिय छैनन्।

प्रकाशित मिति : April 29, 2024 at 8:52 pm