२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

च्याउखेतीमा प्रविधिको प्रयोग


१७ वैशाख, काठमाडाैं । पोखरा महानगरपालिका–११ मा धु्रवबहादुर थापाले काहुँ सिस्नेरी एग्रो फर्म सञ्चालन गरेको केही समय मात्रै भयो । विगतमा खाद्यान्न आपूर्तिको काम गर्ने उनले व्यावसायिक च्याउखेतीप्रतिको आकर्षण भने कोरोना कहरको समयदेखि सुरु गरेको हो ।

कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको सोचलाई व्यवहारमा नै उतारेका  थापाले २०७४ देखि नै त्यसका लागि अध्ययन एवं अन्य प्रक्रियागत काम सुरु गरेको थियो ।

उनले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा हाल च्याउखेती गरिरहनुभएको छ । यसका लागि चीनबाट सामान ल्याएको छ । विसं २०७७ फागुनमा निर्माणका काम सकेपछि च्याउखेती थालिएको र चिस्यानसहितको हाइटेक प्रविधिको टनेल तयार गर्न करिब रु ५० लाख खर्च भएको उनको भनाइ छ ।

थापाले उत्पादन राम्रो हुँदाका अवस्थामा दैनिक करिब पाँच सय किलोग्रामसम्म गोब्रे च्याउ टिप्दै आएको छ । कन्ये च्याउ सामान्य टहरामा उत्पादन गर्न सकिए पनि गोब्रे च्याउ भने हाइटेक प्रविधि जडित टनेलभित्र नै गर्नुपर्ने उनको अनुभव छ । आफूले उत्पादन गरिरहेको च्याउको खपत पोखरामा नै हुने गरेको उनले सुनाए ।

टनेलबाट यस याममा तीन हजार किलोग्राम च्याउ उत्पादन भइसकेको जानकारी दिँदै उनले थप एक हजार किलोग्राम उत्पादन हुने अनुमान गरिएको बताए । उनले च्याउ रु दुई सय ७० मा बिक्री गर्दै आएको छ । खुद्रा बजारमा भने रु तीन सयदेखि तीन सय २५ सम्म च्याउ बिक्री भइरहेको उनको भनाइ छ ।

थापाको च्याउखेती फर्ममा हाल तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने थप पाँच जनाले आवश्यकताअनुसार रोजगारी पाइरहेका छन् । च्याउ टिप्ने बेलाका समयमा भने १२÷१३ जना कर्मचारीलाई प्रतिघण्टाका आधारमा पनि काममा लगाइने उनले जानकारी दिए ।

महानगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत च्याउ पकेट कार्यक्रमका लागि गत आर्थिक वर्षमा थापासहित तीन जना च्याउ उत्पादक कृषक रकम उपलब्ध गराइएको थियो । जसमा संरचना निर्माण, मल, बीउलगायतका लागि ५० प्रतिशत अनुदानस्वरुप रु १२ लाख उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमको निरन्तरता दिँदै थापाको काहुँ सिस्नेरी एग्रो फर्मलाई ५० प्रतिशत अनुदानस्वरुप रु छ लाख उपलब्ध गराइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

च्याउका फाइदा ?

बहुपोषणयुक्त च्याउमा ३५ प्रतिशत प्रोटिन पाइन्छ भने क्यालोरी तथा चिल्लो पदार्थको मात्रा कम हुन्छ । यसमा एर्गो थियोनिन भन्ने तत्व हुन्छ जसले चाउरीपना हटाउनुुका साथै छालाको सुरक्षा गर्दछ । यसमा एन्टी अक्सिडेन्ट प्रशस्तमात्रामा पाइन्छ ।

रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डि प्राप्त हुन्छ भने निकै कममात्रामा कार्बोहाइड्रेड हुन्छ । नियमितरुपमा च्याउ खानाले उच्च रक्तचाप, सुुगरआदिको नियन्त्रण गर्न मद्दत पुुग्दछ भने क्यान्सरको जोखिम कम गर्नुका साथै तौल घटाउन पनि उपयोगी मानिन्छ ।

महानगरको सहयोग

पोखरा महानगरपालिका कृषि महाशाखाले व्यावसायिक कृषिमा क्रियाशील कृषकलाई केही न केहीरुपमा सहयोग गरिरहेको महाशाखा प्रमुख मनोहर कडरियाले बताए । पोखरा पर्यटकीय क्षेत्र भएका कारण यहाँ च्याउको खपत राम्रै हुने उनको भनाइ छ । च्याउको माग पनि बढ्दो भएकाले यसको विविधीकरण गर्नुपर्छ भन्ने महानगरको सोच रहेको उनले बताए ।

उनका अनुसार मूल्यका दृष्टिले सीताके च्याउ सबैभन्दा महंगो पर्छ भने गोब्रे र कन्ये च्याउ त्योभन्दा सस्तोमा पाइन्छ । किसानले राम्रो मूल्य पाउनुका साथै उपभोक्ताले फरक स्वाद पाउन सकुन् भन्ने सोचका साथ च्याउको विविधीकरणलाई आफूहरूले जोड दिएको उनको भनाइ छ ।

सुरुमा कन्ये च्याउको उत्पादन राम्रो भएको बताउँदै उनले उक्त च्याउ भने प्लाष्टिकका टनेलमासमेत उत्पादन गर्न सकिने जानकारी दिए । महानगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको च्याउ पकेट कार्यक्रमबाट काहुँ सिस्नेरी एग्रो फर्मलाई सहयोग गरेको उनले बताए ।

उनका अनुसार महानगरपालिकाले च्याउ उत्पादक कृषकको हितलाई दृष्टिगत गर्दै कन्ये च्याउका लागि रु एक सय ३० र गोब्रे च्याउका लागि दुई सय ६० न्यूनतम समर्थन मूल्य पनि तोकिसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १३:२४

https://srdb.com.np/