२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

नुवाकोट दरबार क्षेत्रका नागरिकले तादी खोलाको पानी पिउन पाउने, सुरू भयो काम


१७ वैशाख नुवाकोट । तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुुरु भएको छ । विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा नं २ का वडाध्यक्ष दीपक कायस्थले आइतबार ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना’को संयुक्त शिलान्यास गरेसँगै काम अघि बढेको हो ।

विदुर नगरपालिका–५ स्थित तादी खोलामा समवेल निर्माण गरेर दुई किलोमिटर उचाइको दूरीमा पर्ने विदुर–२ नुवाकोट दरबार क्षेत्रमा खानेपानी लैजाने पालिकाको महत्वकांक्षी योजना कार्यान्वयनतर्फ अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

“पानीको चरम समस्या र मुहान अभावले व्यवस्थापनमा देखिएको चुनौतीलाई लिफ्ट सिँचाइ योजनामार्फत समाधानको प्रयासमा लागेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “बहुवर्षीय योजनामार्फत काम गरिने भएकाले आवश्यक थप बजेटको सुनिश्चितता र गुणस्तरीय काम गराउन नगरले पहल गर्नेछ ।”

विदुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थले आयोजना सुरू गर्न नै आफूले धेरै ठूलो संघर्ष गर्नुपरेको बताए । उनले दैनिकीसँग कुरा गर्दै भने, ‘नगरपालिकाको नेतृत्वलाई पटक पटक भन्दा पनि सुनुवाइ भएन । आफू निर्वाचित हुनुअघिकै मुख्य प्रतिवद्धता पानीसम्बन्धी थियो । त्यसपछि उपायको खोजीमा एमाले नुवाकोटका उपाध्यक्ष बुद्धि प्रधानसहित प्रदेश सरकारसँग हारगुहार गर्दा तत्कालीन मन्त्री बसन्त मानन्धरले सहयोग गरे । त्यसपछि नुवाकोट दरबार क्षेत्रका नागरिकलाई पानी उपलब्ध गराउने मेरो सपनाले मुर्त रूप लियो । डिपिआर गर्नकै लागि समेत पनि नगरले सहयोग नगरेपछि सो काम पनि प्रदेश सरकारबाटै सुरू गराइयो ।’

वडा अध्यक्ष कायस्थले प्रदेश सरकारका मन्त्री प्रकाश श्रेष्ठसँग आइतबार मात्रै पनि आफ्नो कुरा भएको र आयोजना सम्पन्न गर्न बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाएको जानकारी दिए । उनले नुवाकोट दरबार क्षेत्रका नागरिकलाई जसरी पनि पानी खुवाउने बताए ।

खानेपानी तथा सरसफाइ डिभिजन नं २ धादिङमार्फत कार्यान्वयन गराउन लागिएको उक्त योजनामा चालु आर्थिक वर्षमा रु एक करोड बजेट प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष अच्युतम राजभण्डारीले जानकारी दिए । आगामी असार मसान्तसम्ममा नुवाकोट (विदुर–२ दरबार क्षेत्र) मा दुईलाख क्षमताको मुख्य वितरण ट्याङ्कीसहित एङ्गल ब्लक, पम्पघर, वेल्डिङ र समवेलको काम पूरा गर्ने कार्यदेश रहेको छ । यसका लागि बागमती प्रदेस सरकारबाट रु ८७ लाख १८ हजारसहित उपभोक्तामार्फत रु नौ लाख ६८ हजार बराबरको श्रमदानको काम हुनेछ । उक्त योजना सम्पन्नपश्चात् विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रका ६ सय घरधुरी लाभान्वित हुनेछन् । आयोजना पूरा गर्न रु १२ करोड लाग्ने बताइएको छ । तस्बिरः मेयरको सचिवालय

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ०८:४९

https://srdb.com.np/