२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

विद्युतीय सवारीसाधनमा आकर्षण बढ्दै


१३ वैशाख, गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् । प्रदुषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो ।

एक महिनाअघि पोखरा–बागलुङ विद्युतीय भ्यान सञ्चालन ल्याएको धवलागिरि गण्डकी यातायात सेवा प्रालिले आउँदो सातादेखि सेवा बिस्तार गर्ने योजनामा छ । “एउटा भ्यान थपेर सेवा बढाउँदैछौँ, पोखरा–बागलुङ दिनमा छपटक भ्यान छुट्छ”, प्रालिका अध्यक्ष उमेश केसीले भने, “सुविधायुक्त र वातावरणमैत्री भएकाले यात्रु पनि आकर्षित छन् ।”

चौध सिट भएको उक्त भ्यानमा सिसिटिभी, वाइफाइ र मोबाइल भुक्तानीको समेत व्यवस्था रहेको छ । भ्यानमा पोखरा–बागलुङको भाडादर प्रतियात्रु रु चार सय ५० तोकिएको छ । प्रालिले निकट भविष्यमा बागलुङबाट नारायणगढ र काठमाडौँमा उक्त सेवा बिस्तार गर्ने योजना बनाएको अध्यक्ष केसीले बताए ।

बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेशन, पाटपुर्जाआदिका दृष्टिबाट भने विद्युतीय सवारीसाधन सञ्चालनमा केही अन्योलता देखिएको उनको भनाइ छ । “सरकारले विद्युतीय सवारीसाधनको आयातदेखि चार्जिङ स्टेसन बिस्तार, बाह्रैमास विद्युत् सेवाको सुनिश्चितताजस्ता विषयमा ध्यान दिनुपर्छ”, अध्यक्ष केसीले भने ।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले उक्त कार्यालयमा ५० भन्दाबढी विद्युतीय भ्यान दर्ता भएको जानकारी दिए । पोखरामा आठ वटा विद्युतीय ट्याक्सी र स्कुटर एक सयभन्दा बढी दर्ता भई सञ्चालन भइरहेको उहाँको भनाइ छ । “निजी विद्युतीय कारको सङ्ख्या पनि उल्लेख्य मात्रामा बढ्दो छ”, प्रमुख रिजालले भने, “पोखरामा विद्युतीय सवारीसाधन भित्रिने क्रम बढ्दो छ ।”

उनले डिजेल–पेट्रोलबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको सञ्चालन खर्च कम आउने बताए । “प्रदुषणमुक्त हुने र सेवासुविधाका कारणले पनि विद्युतीय सवारीसाधनप्रति व्यवसायी र यात्रुको आकर्षण बढेको देखिन्छ”, प्रमुख रिजालले भने, “सुरुमा यसप्रति खासै रुचि देखिएको देखिएन, अहिले विद्युतीय सवारीसाधनको किनबेच र दर्ता ह्वात्तै बढेको छ ।”

प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रशासन तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख टीकाराम पौडेलले मझौला र साना विद्युतीय सवारीसधान प्रयोगमा आइरहेको बताए । “गण्डकी प्रदेशमा ठूला विद्युतीय बस सञ्चालनमा आइसकेका छैनन्, कार, भ्यान र स्कुटरको स¬ङ्ख्या बढ्दो छ”, उनले भने, “कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिन्छ ।”

पोखरामा ११, १४ र १५ सिट क्षमताका भ्यान सञ्चालनमा छन् । चार्जिङ स्टेनशन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको महाशाखा प्रमुख पौडेलले बताए । विद्युतीय सवारीसाधनका लागि नेपाल विद्युत् प्राधिकरणले पोखरामा दुई वटा चार्जिङ स्टेशन स्थापना गरेको उनको भनाइ छ । बागलुङमा न्यून क्षमताको चार्जिङ स्टेशन राखिएको छ । मुख्य राजमार्ग र सहरी क्षेत्रमा थप चार्जिङ स्टेशन राख्न पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार १७:२३