९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय पुगे काठमाडौँ महानगरको सम्पर्कमा

१३ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन् ।

प्रमुख पोखरेलका अनुसार नाम परिवर्तका लागि कामपाले गत चैत २१ गते सार्वजनिक सूचना गरेको थियो । सूचनामा विदेशी नाम भएका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम राख्न भनिएको थियो ।

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था बमोजिम महानगरले सो सूचना जारी गरेको थियो ।

सूचनामा एक हप्ताको समय दिइएको भए पनि नाम परिवर्तनका लागि संस्थागत विद्यालय आउनेक्रम जारी रहेकोले सूचना प्रकाशित भएको ३५ दिनसम्म पनि विद्यालयको आग्रहलाई स्वीकार गर्ने निर्णय भएको उनले जानकारी दिइन् । अहिले महानगर पाँच सयभन्दा बढी निजी विद्यालय रहेका सञ्चालनमा छन् ।

तोकिएको समयसम्म पनि सम्बन्धित विद्यालयले नाम परिवर्तनका लागि आलटाल गरे कानुनअनुसार कारबाही गर्ने कामपाले चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : April 25, 2024 at 4:30 pm