३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

गोरखाको वीरेन्द्र ताल फुट्यो, तटीय क्षेत्रमा सतर्क रहन गृहमन्त्रालयको आग्रह

९ वैशाख, काठमाडौं । मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ। गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको हो।

बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए । वीरेन्द्र ताल फुट्दा, चुमनुव्री, धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा जोखिम बढेको छ।

ताल फुटेर बूढीगण्डकीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ। ‘हिउँ पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ।बिहान पौने नौ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्,’ गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने।

बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। ‘बाढीले क्षति गर्ने संभावना हुन्छ। बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौं’, उनले भने। घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले बताए।

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार १०:४२