१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

भोजपुरको वाक्चाखामा विद्युतकाे केन्द्रीय प्रसारण लाइन

२९ चैत, भोजपुर । भौगोलिकरुपमा विकट मानिने भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । यहाँका एक सय ५० घरपरिवारमा विद्युत् विस्तार गरिएको हो । वर्षौंबाट टुकीको साहारामा रात कटाउँदै आएका स्थानीय विद्युत् विस्तारपछि खुसी भएका छन् ।

वर्षौंबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युत्को केन्द्रीय प्रसारण लाइन बिस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी राजेन्द्र राईले बताए । विद्युत् विस्तारले कुटानीपिसानीसँगै दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । अहिले विद्युतीय उपकरण जडान गरेर काम गर्नसक्ने वातावरण तय भएको उनले जानकारी दिए ।

“भौगोलिकरुपमा विकट रहेको हाम्रो वाक्चाखा गाउँमा केन्द्रीय प्रसारण लाइन जडान भएको छ”, उनले भने, “विद्युत् बिस्तारले वर्षौंबाट अध्याँरोमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । विद्युत्ले दैनिक जीवनयापनमा सहजता भएको छौँ । ढिलै भए पनि विद्युत् उपभोग गर्न पाउँदा खुसी लागेको छ ।”

वडाको सक्रियतामा दुर्गम क्षेत्रमा केन्द्रीय प्रसारण लाइन बिस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयवासी महेन्द्र राईले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देशविदेशको जानकारी लिने गरेको उनले बताए ।

“विद्युत् नहुँदा दैनिकी निकै कष्टकर थियो”, उनले भने, “विद्युत् विस्तार भएपछि गाउँले जीवनमा सहजता थपिएको छ । घरमा बसेर देश विदेशका सूचना लिन सकेका छौँ । गाउँ झिलीमिली बनेको छ । यहाँ विद्युत् आउँछ भन्ने हामीलाई लागेको थिएन ।”

भौगोलिकरुपमा विकट रहेको भए पनि वडालाई आगामी वर्षभित्र उज्यालो वडा घोषणा गर्ने लक्ष्यका साथ केन्द्रीय प्रसारण लाइन बिस्तार भइरहेको वडाध्यक्ष वाचकुमार राईले बताए । हालसम्म वडाको ८० प्रतिशत क्षेत्रमा विद्युत् बिस्तार गर्न सफल भएको उनको भनाइ छ । वडाको कुनै पनि स्थानमा विद्युत् नपुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत् विस्तार गरिएको वडाध्यक्ष राईको भनाइ छ ।

“मैले वडाको जिम्मेवारी सम्हाल्दा हाम्रो वडाको कुनै पनि स्थानमा विद्युत् थिएन”, वडाध्यक्ष राईले भने, “अहिले ८० प्रतिशत क्षेत्रमा विद्युत् बिस्तार गर्न सफल भएका छौँ । आगामी वर्ष उज्यालो वडा घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”

विद्युत् विस्तारका लागि वडाले रु १२ लाख बजेट विनियोजन गरेर तार खरिद गरेको वडाध्यक्ष राईले बताए । सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै विद्युत् विस्तारमा पहिलो प्राथमिकता साथ काम गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : April 11, 2024 at 5:07 pm