२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित

२८ चैत, काठमाडाैँ। नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए ।

दुई दशकदेखि चेम्बरमा आबद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यवसायिक अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवम् शुभकामना व्यक्त गरेका छन् । यसैगरी, चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपककुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, बस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियमा निलकण्ठ चौलागाई र जिल्लातर्फको उपाध्यक्षमा सन्तोषकुमार पाण्डे निर्विरोध चयन भएका चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चेम्बरको ७३ औं वार्षिक साधारणसभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ । ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनित बाहेक ५५ जना केन्द्रीय सदस्य पनि निर्विरोध चयन भएका बताइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १२:१३