९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

नेप्सेमा सामान्य अंकको गिरावट, लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण

२१ चैत, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २९ करोडको काराेबार भएकाे बजारमा यस दिन २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बराबरको ६४ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

जीवन बीमा समूह शून्य दशमलव ५०, लघुवित्त एक दशमलव ६५ र म्युचुअल फन्ड समूह शून्य दशमलव ३८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७४ र व्यापार समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ६३, वित्त शून्य दशमलव ६३, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव ३९, लगानी शून्य दशमलव १८, निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेका छन् ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९७ र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य चार दशमलव ४० र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको चार दशमलव ०८ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु २५ करोड ८० लाख ५९ हजार एक सय १६ बराबरको चार लाख ९४ हजार सात सय ४५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : April 3, 2024 at 3:28 pm