२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

गृह मन्त्रालयका कर्मचारीलाई विमानस्थलको भीआइपी कक्ष प्रयोग नगर्न उपप्रधानमन्त्री लामिछानेको निर्देशन


२० चैत, काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलको भीआइपी कक्ष प्रयोग नगर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा गठित राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि मंगलबार भएको छलफलमा उपप्रधानमन्त्री लामिछानेले त्रिभुवन विमानस्थलको भीआइपी कक्ष प्रयोग नगर्न निर्देशन दिए ।

उपप्रधानमन्त्री लामिछानेले नागरिकलाई चार घण्टा कुराएर आफू चार मिनेटमा छिर्ने प्रवृत्ति न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । छलफलमा त्रिभुवन विमानस्थलमा कार्यरत प्रायः सबै निकायका प्रतिनिधिले भीआइपीको स्पष्ट मापदण्ड बनाउन र उनीहरुको आगमन र प्रस्थान व्यवस्थित गर्न आत्यावश्यक रहेको औंल्याएका थिए । भीआइपीले आफ्नो मर्यादा ख्याल नगर्दा सुरक्षा चुनौतीसमेत बढेको उनीहरूको गुनासो थियो । उक्त गुनासो सम्बोधन गर्दै उपप्रधानमन्त्री लामिछानेले मन्त्रालयका अधिकारीलाइ भीआइपी कक्ष प्रयोग नगर्न निर्देशन दिएका हुन ।

यसैबीच सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका खटिएका निजी क्षेत्रका सुरक्षा गार्ड हटाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा गठित राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्दै सरकारले निजी क्षेत्रका सुरक्षा गार्ड हटाउने तयारी गरेको हो ।

समितिले प्रतिवेदनमा नेपाल प्रहरीको छुट्टै हवाई सुरक्षा सेवा गठन गर्न, विमानस्थलबाट निजी क्षेत्रका सुरक्षा गार्ड हटाउन, दुई वर्षभन्दा बढी कार्यरत कर्मचारीलाई सरुवा गर्न, आधुनिक उपकरण र डिटेक्टरको व्यवस्था गर्न, कुटनीतिक कार्गो जाँच गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउन, विमानस्थलको एकीकृत इन्टलिजेन्स् बनाउन, अध्यागमन ऐन र नियमावली समय सापेक्ष संशोधन गरी विमानस्थलको प्राविधि सुधारलगायत पक्षमा सुझाव दिएको छ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार २१:३०