७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

४ करोड ठगी आरोपी प्राइम बचत तथा ऋण सहकारी सञ्चालकलाई धरौटीमा छाड्न अदालतकाे आदेश

७ मंसिर, मोरङ । ४ करोड बराबरकाे रकम ठगी गरेको आरोप लागेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीस सारङ्गा सुबेदी र उमेशकुमार सिंहको इजलासले बचतकर्ताको ३ करोड ९७ लाख रुपैयाँ ठगी गरेको आरोपमा थुनामा रहेका सहकारीका संयोजक इन्द्रलाल श्रेष्ठलाई ५ लाख, व्यवस्थापक इश्वर श्रेष्ठलाई १० लाख र उपाध्यक्ष बिष्णुप्रसाद सुवेदीलार्इ साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

२ सय ६८ जना बचतकर्ताले ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ फिर्ता नदिएको उजुरी परेपछि प्रहरीले सहकारीका १२ सञ्चालकमध्ये ३ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

जिल्लाको आदेश रीत नपुगेको भन्दै उनीहरुले उच्च अदालतमा पुनरावेदन गरेका थिए । त्यसै निवेदनमाथि सुनुवाई गर्दै तीनै जना सञ्चालकलाई छाड्ने आदेश भएको ईश्वर श्रेष्ठको पक्षमा बहस गरेका कानुन व्यवसायी चुणामणि कोइरालाले जानकारी दिए ।

मुद्दा दायर गरिएकामध्ये ईन्द्रलाल श्रेष्ठ, ईश्वर श्रेष्ठ र विष्णुप्रसाद सुवेदीबाहेक अन्य ९ जना फरार थिए । विराटनगर–९ मा कार्यलय रहेको वचत तथा ऋणको कारोवार गर्दै आएको सहकारीले बचतकर्ताको ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको भेटिएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार २०:३४