मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
३० फागुन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ ।
मृत्यु भैसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन वडा अध्यक्ष थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६/७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी रु ५१ हजार सामाजिक सुरक्षा भत्ता आफ्नो आमा नाता जनाइ बुझिलिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकोले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।
प्रकाशित मिति : March 13, 2024 at 6:04 pm









