३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ लाई तोकियो

२७ फागुन, काठमाडौं । राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । आजको बैठकमा राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्ने कार्यसूची रहेकोमा फागुन २९ गतेलाई उक्त मिति तोकिएको छ ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्षका लागि २०८० फागुन २९ गते मङ्गलबारको मिति तोकिएको जानकारीसहित र यो निर्वाचनसम्बन्धी सूचना प्रकाशित गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई आजको बैठकले निर्देशन दिएको छ ।
त्यसैगरी, आजको बैठकले राष्ट्रियसभाको यही फागुन १८ गतेको बैठकमा सांसद भुवनबहादुर सुनारले राष्ट्रियसभाको दोस्रो संशोधन नियमावली २०८० माथिको छलफलमा भाग लिने क्रममा प्रयोग भएको ‘स्यालको छाला ओढेको ब्वाँसो भन्ने कि के भन्ने जस्तै कम्युनिष्टका नाम बोकेको मानिसको चरित्र उदाङ्गो भयो’, भन्ने वाक्यांशप्रति सभाका सदस्य उदयबहादुर बोहराबाट नियमापत्ति भएको सन्दर्भमा उक्त वाक्याङ्श राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ बमोजिम असान्दर्भिक देखिएको हुँदा संसदको रेकर्डबाट हटाउन निर्देशन दिएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित विधेयकका सिद्धान्त प्राथमिकतामाथि छलफल हुँदैछ ।

प्रकाशित मिति : March 10, 2024 at 2:46 pm