१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

परराष्ट्र मन्त्रालयको नेतृत्वमा दोस्रो पटक नारायणकाजी श्रेष्ठ


२४ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ दोस्रो पटक उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीकारुपमा परराष्ट्र मन्त्रालयको नेतृत्वमा पुगेका छन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात र उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिका रहेका श्रेष्ठ परराष्ट्र मन्त्रालयमा दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन ।

श्रेष्ठले गत चैत १९ गतेदेखि गृह मन्त्रालयको नेतृत्व सम्हालेका थिए । त्यसअघि उनी २०६८ सालमा डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री बनेका थिए । हाल राष्ट्रियसभा सदस्यका रूपमा रहेका श्रेष्ठको जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रूपमा गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारी भएको हो ।

विसं २०३१ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गरेका श्रेष्ठले २०४२ सालमा नेकपा (चौम)को केन्द्रीय सदस्य, २०५१ सालमा नेकपा (एकता केन्द्र)का महासचिव, २०६५ सालमा नेकपा (एकीकृत माओवादी)को उपाध्यक्ष, २०६६ सालमा माओवादी संसदीय दलको उपनेताको भूमिका निर्वाह गरेका छन ।श्रेष्ठ  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य एवं प्रवक्ताको भूमिकामा पनि थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ११:४०