१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भिजिट भिसामा रुस पठाइदिन्छु भन्दै ठगी गर्ने बिनिता बानियाँटारबाट पक्राउ


२३ फागुन, काठमाडौँ । भिजिट भिसामा रुस पाठइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका-१ घर भई हाल जिल्ला काठमाडौँको टोखा नगरपालिका-११ बानियाँटार बस्ने ३० बिनिता गुरुङ रहेकी छन् ।

बिनिताले एसएलसी फेल भएका भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोप छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बिनिताले भीमबहादुरलाई प्रलोभनमा पारी पटक पटक गरी ३ लाख ४६ हजार रुपैयाँ र १ हजार अमेरिकी रकम लिई सम्पूर्ण भिजिट भिसामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू बनाई दिएकी थिइन् ।

गुरुङले एक हजार डलर साटेको देखाई उक्त डलर बसपार्कबाट आफै लिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर बुढालाई रसिया पठाएकी थिइन् । तर रसिया पुगे पश्चात् बुढालाई एयरपोर्टबाटै नक्कली कागजात भएको भनी फिर्ता पठाइएको थियो ।

नेपाल फर्किएपछि पीडित बुढाले वैदेशिक रोजगार विभाग आई निवेदन दिएको र सोही आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिनितालाई फागुन २१ गते बानियाँटारबाट पक्राउ गरेको रेग्मीले बताए । बिनितालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १०:०३