१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा अश्लील क्याम्सन लेख्ने सुमन पक्राउ


२० फागुन, काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भइ काठमाडौंको गोल्खुपाखामा बस्दै आएका २२ वर्षीय सुमन खत्री रहेकाे प्रहरीको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए ।

अवस्थीका अनुसार, खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिगले पोष्ट गरेको फोटोहरु डाउनलोड गरेर नक्कली आईडी बनाएका थिए । सुमनले पीडितको फोटो प्रयोग गरेर अश्लील क्याम्सन समेत लेखेको पाइएको उनले बताए ।

‘नाबालिगकी दिदी र साथीहरुलाई समेत अश्लिल तस्वीर, भिडियो, फेसबुक म्यासेन्जरमा पठाएर चरित्र हत्या गरेको भन्दै पीडितका काकाले ब्यूरोमा निवेदन समेत दिनुभएको थियो’, एसपी अवस्थीले भने, ‘त्यसपछि अनुसन्धान गर्दै जाने क्रममा उनले भीपीएन प्रयोग गरेर सामाजिक सञ्जाल चलाएर पीडितलाई हैरानी दिने गरेको खुल्यो ।’

सुमनलाई गोल्खुपाखा ठमेलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

अनुसन्धानका क्रममा ब्यूरोबाट खटिएको टोलीले उनलाई गोल्खुपाखा, ठमेलबाट पक्राउ गरेको उनले बताए । विद्युतीय अपराध ऐनविरुद्धको कसूरमा अनुसन्धानका लागि उनलाई ५ दिन हिरासतमा राख्न अदालतले समेत अनुमति दिइसकेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १६:२३