१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मैले पानी जहाजको कुरा गर्दा केही मानिसले कुरा बुझेनन्ः केपी ओली


१८ फागुन, भरतपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर नेपालको विशेष प्रकारको ठाउँ भएको बताएका छन् । शुक्रबार भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर मानव र जंगली जनावरको गजबको मेल र अलि अलि संघर्ष समेत भएको ठाउँ भएको बताए ।

आफू प्रधानमन्त्री हुँदा नदीको बाटोबाट कलकत्ता बन्दरगाहसम्म जाने बाटोलाई जोड्ने काम अघि बढाएको ओलीले बताए । आफूले पानी जहाजको कुरा गर्दा सुरुमा मानिसहरूले कुरा नबुझेका बताउँदै ओलीले अहिले कम्तीमा नारायणी नदीमा स्टिमर चल्न लागेका भन्दै खुसी व्यक्त गरे ।

आफ्नो पालोमा पूर्व–पश्चिम राजमार्गलाई ६ लेनको बनाउने काम तथा हुलाकी मार्ग निर्माण लगायतका काम भएका उनले स्मरण गराए । आफ्नो पालामा नारायणी नदी नियन्त्रण, सभा हल निर्माण, औद्योगिक क्षेत्र घोषणालगायतका काम भएको आलीले बताए । ‘मलाई लाग्छ, यस ठाउँको विकास तीव्र गतिमा हुन सक्छ’, उनले भने ।

ओलीले भरतपुर भ्रमण वर्षलाई चितवन भ्रमण वर्षको रूपमा अघि बढाउनु पर्ने बताए । भ्रमण वर्षलाई समग्र चितवनको विकासका रूपमा लिनु पर्नेमा उनले जोड दिए । ओलीले चितवनलाई शिक्षा, स्वास्थ्य, कृषि पर्यटन हरेक क्षेत्रको हब बनाउन सकिने उनले बताए । ‘चितवनलाई शिक्षाको हब, स्वास्थ्यको हब बनाउन सकिन्छ’, उनले भने ।

चितवनले कृषि, पशुपालन, मत्स्यपालन लगायतका क्षेत्रमा पनि विकास गर्न सक्ने उनले प्रष्ट पारे । उनले आगामी एक वर्षको बिचमा आफू पनि सपरिवार चितवन घुम्न आउने ओलीले बताए । ‘यो त रमाइलोसँग जिन्दगी बिताउने ठाउँ हो, यहाँ बोटिङ गरे हुन्छ, बागवानी हेरे हुन्छ’, उनले भने ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १५:३८