१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाँच दशकदेखि क्रियाशित पाँच चलचित्रकर्मीलाई ‘चलचित्र स्वर्णिम सम्मान २०८०’


१७ फागुन, काठमाडौँ । इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आईएनएनएफ) ले बिहीबार आयोजित एक भव्य समारोहमा पाँच दशकभन्दा लामो समयदेखिको उल्लेखनीय योगदानका लागि नेपाली चलचित्र उद्योगका पाँच व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्काको अतुलनीय समर्पण र असाधारण प्रतिभालाई कदर गर्दै ‘चलचित्र स्वर्णिम सम्मान २०८०’ बाट सम्मानित गरिएको हो ।

कार्यक्रममा रमेश बुढाथोकी, राजकुमार राई, रवीन्द्र खड्का, गौरी मल्ल र करिश्मा मानन्धरलाई ‘चलचित्र विशेष व्यक्तित्व सम्मान २०८०’ प्रदान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मानित व्यक्तिहरूलाई सम्मान पत्र र दोसल्लाले विभूषित गरेका थिए ।

कार्यक्रममा संस्थाको प्रथम साधारण सभापछि नयाँ कार्यसमिति गठन भएको छ । आईएनएनएफ केन्द्रीय समितिको अध्यक्षमा लव प्याकुरेल र उपाध्यक्षमा मानबहादुर थापा, प्रदीप लाल श्रेष्ठ र लक्ष्मण सुवेदी निर्वाचित भएका छन् । महासचिवमा रमेश कोइराला, सचिवमा भीष्मराज फुलारा र कोषाध्यक्षमा ठण्डबहादुर अधिकारीले जिम्मेवारी पाएका छन् । त्यसैगरी सदस्यमा राधेश्याम विश्वकर्मा, गणेश सुवेदी, विनोद चौलागाईं र मधु अधिकारी निर्वाचित भएका छन् ।

कार्यक्रममा ‘सिमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया पनि गरिएको थियो । चलचित्रकर्मी, उद्योग विज्ञ र सरोकारवालाहरूबीच नेपाली चलचित्र नेटवर्किङ, ज्ञान आदानप्रदान र सहकार्यको लागि कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष प्याकुरेलले बताए । अन्तर्क्रियामा सहभागीहरूले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सरकार र चलचित्रकर्मीबीच ठोस योजना र सहकार्य आवश्यक रहेकोमा जोड दिए । प्रमुख वक्ता चर्चित अभिनेता नीर शाहले नेपाली चलचित्र उद्योगलाई थप विकासका लागि आफ्नो कमजोरी पत्ता लगाएर आत्मपरीक्षण गर्न आग्रह गरे । कार्यक्रमले नेपाली चलचित्र समुदायको एकता र ऐक्यबद्धता, सामूहिक उत्सवको भावना र उद्योगको प्रगतिप्रति प्रतिबद्धतालाई बढावा दिने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार २२:३२