नेपाल राष्ट्र बैंकले माग्यो संयोजक, तलब एक लाख २६ हजार
१४ फागुन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले संयोजक पदमा दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि पदपूर्ति गरिने जनाएको छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले आज एक सूचना जारी गर्दै समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि दुईजना व्यक्ति सम्मिलित व्यवस्थापन समूहको संयोजकका लागि दरखास्त आह्वान गरेको हो।
सो पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्तानकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तीमा एक दशकको अनुभव भएको हुनुपर्नेछ ।
सेवाअवधि एक वर्षको हुनेछ भने कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि दुईपटकसम्म नवीकरण गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ । दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
दरखास्त चैत ४ गतेसम्म दिन सकिनेछ । छनोट भएका व्यक्तिको तलब मासिक एक लाख २६ हजार ३०० (करसहित) हुनेछ । दशैं खर्चबापत एक महिनाको पारिश्रमिकबराबरको रकम प्रदान गरिनेछ। सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान नगरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : February 26, 2024 at 9:53 am










