११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

२४ घण्टा पनि टिकेन ओलीको बोली, निवासमै काटे २५ किलोको केक


११ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको अवसरमा केक नकाट्ने भनेर गरेको पूर्व घोषणा २४ घण्टासम्म पनि टिकाउन सकेनन् । उनले बिहीबार राति ‘बा’ ब्राण्डिङको काम गर्ने समूहसँगको भिडियो सन्देशमा यो वर्षको जन्मदिनमा केक पनि नकाट्ने र धुमधाम पनि नगर्ने घोषणा गरेका थिए ।

ओलीको उक्त घोषणा उपमहासचिव विष्णु रिमालसहितले प्रमुखताका साथ प्रचार पनि गरेका थिए । तर ओलीले आफ्नो घोषणा सार्वजनिक भएको अर्को २४ घण्टा नबित्दै २५ किलो अर्थात ५५ पाउण्डको केक काटेर ७३ औँ जन्मदिन मनाएका छन । ओलीको जन्मोत्सवको अवसरमा अहिले सयौँ शुभेभच्छुकको उपस्थितिमा ओली निवास बालकोटमा सांगीतिक कार्यक्रम भैरहेको छ ।

बिहीबार रातिमात्रै ओलीले केक नकाट्ने र केक नल्याउन आग्रह गरेका थिए । तर ओलीको निर्देशन विपरित उनकै गृहजिल्लाको पार्टी सम्पर्क मञ्चले २५ किलो अर्थात ५५ पाउण्डको केक तयार पारेर लगेको हो । ओली निवास बालकोट नजिकै नेकपा एमाले झापा काठमाडौँ सम्पर्क मञ्चले ओलीको ७३ औँ जन्मदिनका लागि २५ किलोको केक तयार पारेको हो ।

शुक्रबार राति ओली निवासमै भएको जन्मोत्सव समारोहमा उक्त २५ किलोको केक ओली र उनको पिता मोहनप्रसाद ओलीले संयुक्त रूपमा काटे । ओलीलाइ पिता मोहनप्रसादले केक खुवाइदिएका थिए ।बालकोटको हर्मन लाइभ बेकरीमा ओलीका लागि पार्टीको नयाँ लोगोसहितको केक तयार भएको थियो। बेकरीका श्यामजंग खत्री जंगे मौसुफले केक तयार पारेका हुन । यद्यपी विगतमा जस्तो धेरै व्यक्तिले केक बोकेर बालकोट धाएनन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार २०:३५