१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल टेलिकमले ३४ विमानस्थलमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने


११ फागुन, काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रिवाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
यस सम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच आज (फागुन ११ गते) सहमति भएको छ ।

सो सहमतिपत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रअनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रिवाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्रिवाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।

त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।

फ्रिवाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइलचार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ । यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रिवाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १७:४८