१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जन्मदिनमा केक नकाट्ने निर्णय गरेका ओलीले यसरी सम्झिए तीन दुर्घटना र आफ्नै विवाह


११ फागुन, काठमाडाैँ । ७३ औँ जन्मदिनमा केक नकाट्ने निर्णय गरेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ परेका तीन दुर्घटना सम्झिएका छन । जन्मदिनको अवसर पारेर कान्तिपुर दैनिकमा ‘जिन्दगी अर्थात् संयोगको पुञ्ज’ शीर्षकमा लेख प्रकाशित गर्दै ओलीले तीन काहलीलाग्दा दुर्घटना र बिबाहको प्रसंग सम्झिएका छन ।

७३ औँ जन्मदिनको पूर्व सन्ध्यामा ‘केपी बा’ नामको ठेगानाबाट भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले जन्मदिनको अवसरमा केक नकाट्ने निर्णय सुनाएका थिए । उनले जन्मदिनको मनाउन आउनेहरूलाई केक नलिइकन आउन पनि अनुरोध गरेका छन । उनले जन्मदिन धेरै धुमधामसँग पनि नमनाउने निर्णय लिएका छन ।

शुक्रबार उनले कान्तिपुर दैनिकमा प्रकाशित गरेको ‘जिन्दगी अर्थात् संयोगको पुञ्ज’ मा हेलिकोप्टर, गाडी र मोटरसाइकल दुर्घटनाको स्मरण गरेका हुन । उनले दुर्घटनाको स्मरण यसरी गरेका छन, ‘नेपालगन्जको राँझा विमानस्थलबाट हामी उडेको हेलिकोप्टर पाँच/सात मिनेटको अन्तरालमै बाँके, शमशेरगन्जको दक्षिण भेगमा खस्यो । संयोग कस्तो पर्‍यो भने हेलिकोप्टर सोझै झरेन, अलिकति घुमेर झर्‍यो । त्यो पनि झ्याम्म परेको रूखमाथि । त्यसका ससाना हाँगा भाँचिए । हेलिकोप्टरको धक्कामुक्काले गर्दा रूख दुई फ्याक भयो । एक फ्याक हेलिकोप्टरसँगै झर्‍यो भने अर्को फ्याक रूखले बोकेरै बस्यो । हेलिकोप्टर जमिनमा बजारिएर पल्टियो । हामी अलिअलि घाइते भयौं । यदि हेलिकोप्टर रूखमा नठोक्किई आफ्नै वेगमा झरेको भए कोही पनि बाँच्ने सम्भावना हुने थिएन ।’

त्यस्तै ओलीले गाडी र मोटरसाइकल दुर्घटनामा परेको कुरा पनि ७३ औँ जन्मदिनमा खुलाएका छन । उनले त्यो कहालीलाग्दो दुर्घटना यसरी सम्झिएका छन, ‘यति मात्र होइन, तेह्रथुम जाँदा म चढेको गाडी सडकमै पल्टियो । डिलमुनि गएको भए मेरो जीवन त्यहीं समाप्त हुन्थ्यो । म मोटरसाइकल दुर्घटनामा पनि संयोगवश बाँचेको छु । संयोग मिहिनेत होइन, परिश्रम होइन । तर प्रगति वा सफलताका काम योजनाबद्ध हुन्छन् । सफलता इमानदारी, मिहिनेत र परिश्रमले मात्र प्राप्त हुन्छ ।’

यस्तै ओलीले विवाहको सन्दर्भको पनि सम्झना गरेका छन । उनले आफ्नो विवाह लभ पनि नभएको र एरेन्ज पनि नभएको दाबी गरेका छन । यसको स्मरण ओलीले यसरी गरेका छन, ‘मेरो बिहे लभ पनि होइन, एरेन्ज पनि होइन । साथीहरूले बिहे गरे हुन्थ्यो भनिहाले । राधिका र मैले यसो कुरा गर्‍यौं । पहिलो भेटमै कुरा टुंगियो । ओहोरदोहोर केही पनि भएन । आकस्मिक ढंगले बिहे भयो । अहिले त बिहे भएको पनि ३६ वर्ष नाघिसक्यो । हाम्रो एरेन्ज बिहेसमेत आकस्मिक भयो । कहिलेकहिले आकस्मिक रूपमा भएका कुराले पनि राम्रो परिणाम दिँदो रहेछ ।’

सामान्य किसान परिवारमा जन्मिएका केपी शर्मा ओली तीन पटक देशको प्रधानमन्त्री भैसकेका छन । उनी अहिले प्रमुख प्रतिपक्षी दलका नेता हुन । २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा संगठित भएका केपी २०२७ सालको चर्चित झापाको ‘टाउको काट’ विद्रोहका अगुवा समेत हुन्। सामन्तको टाउको काट्ने भनेर चर्चित बनेको झापा आन्दोलनपछि उनी राष्ट्रिय राजनीतितर्फ सोझिएका थिए । तत्कालीन नेपाल कम्युनिस्टले हतियारबद्ध संघर्ष सुरु गर्दा ओली संघर्षका मुख्य कमाण्डर रहेका थिए ।

केपीले आन्दोलनको क्रममा १४ बर्ष जेल जीवन विताए । २०३० सालमा जेल परेका केपी २०४४ असारमा भद्रगोल जेलबाट मुक्त भएका थिए । केपी जेलमुक्त भएपछि २०४४ सालको पुस २ गते धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा मालेको बैठकले उनलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको थिए । त्यसयता उनी निरन्तर नेकपा एमालेको केन्द्रीय राजनीतिमा देखिने भूमिकामा रहेका छन ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ०९:२९