१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिउँ, भ्रष्टाचारमा मुछिएकालाई वरपर नराखाैँः महामन्त्री थापा


१० फागुन, ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बलियो र सबल बनाउने अठोट बोकेर जनतामाझ जानुपर्ने बताएका छन् ।

कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठकको आज समापन गर्दै उनले महासमिति बैठकपछि पार्टीलाई बलियो र सबल बनाउने गरी जनतामाझ जानुपर्ने बताए ।

महामन्त्री थापाले हामी अभिभावक र सेवक भएकाले राम्रो काम गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । विसं २०४६ देखि हालसम्म नेतृत्वमा रहेका सबैको सम्पत्ति छानबिन गर्ने अठोट कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले भने, “काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिनुपर्छ । भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई कांग्रेसले वरपर राख्न हुदैन ।” उनले पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

“कांग्रेसले चार वर्षमा १२ लाख नयाँ सदस्यता थपेर आगामी निर्वाचनमा देशकै सबैभन्दा धेरै मत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ”, महामन्त्री थापाले भने । बदलिँदो कांग्रेस र बलियो कांगेसको आडमा आगामी १५ वर्षमा देश निर्माणको सपना पूरा गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार २१:०७