१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सञ्चार क्षेत्रका कानुन निर्माण सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री शर्मा


७ फागुन, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीयताको मर्म र भावनाअनुसार सञ्चार क्षेत्रका कानुन निर्माण सरकारको प्राथमिकतामा रहेको बताएकी छिन् । राष्ट्रिय समाचार समिति (रासस)को ६३औँ वार्षिकोत्सवका अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले सङ्घीयताको भावनासँग अनुकूल हुनेगरी विद्यमान कानुन संशोधन र नयाँ कानुन निर्माण गरिने बताएकी हुन् ।

“सञ्चारमाध्यमसँग सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्दै सङ्घीयताको मर्म र भावनाअनुरूप स्थानीय तहसम्मै अनुभूति हुनेगरी कानुनमा संशोधन, परिमार्जन एवं नयाँ कानुन बनाई समसामयिक सुधार गर्न सरकार लागिपरेको छ”, मन्त्री शर्माले भनिन्, “सङ्घीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारका क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिएका छौँ ।”

आमसञ्चार क्षेत्रको पुनःसंरचनाका लागि नीतिगत तथा कानुनी सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरेको र सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाई नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको पनि मन्त्री शर्माले बताइन् ।

पत्रकारिता तथा सञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यावसायिक र जिम्मेवार बनाउने विषयमा सरकार गम्भीर रहेको पनि मन्त्री शर्माले उल्लेख गरिन् । “नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा वर्तमान सरकार प्रतिबद्ध एवं क्रियाशील छ”, उनले भननि्, “विगतमा पत्रकारिता क्षेत्रले जनताको राजनीतिक अधिकार प्राप्तिका लागि राजनीतिक दलसँगै रहेर आफ्नो क्षेत्रबाट योगदान गरेको थियो । अब राजनीतिक उपलब्धिको रक्षा र विकास गर्दै जनताको जीवनस्तर रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नु आवश्यक छ ।”

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर जनताको जीवन रुपान्तरणमा सिङ्गो मुलुकलाई एकताबद्ध गरेर लैजाने प्रयास गरिरहेको पनि मन्त्री शर्माले दाबी गरिन् । अहिलेको सरकारले पछिल्लो एक वर्षमा सेवा प्रवाहलाई सरल, कम खर्चिलो र झन्झटमुक्त बनाइएको पनि उनले बताइन् । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण, सुनको अवैध ओसारपसारलगायत भ्रष्टाचारमा छानविनलाई सहयोग गर्न सरकार दृढ रहेको पनि उनले उल्लेख गरिन् ।

“अनुचित लेनदेनसम्बन्धी कारोबारको अन्त्यलगायत सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण काम भएका छन् । अब सरकारले समृद्धिका क्षेत्रमा देखिने गरी काम अघि बढाउन खोजिरहेको छ”, शर्माले भनिन्, “कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधिलगायत क्षेत्रमा लगानी केन्द्रित गरेर आर्थिक समृद्धिको ढोका खोल्न सकिन्छ भन्नेमा सरकार विश्वस्त छ ।”

राज्य र जनताकाबीचमा पुलको भूमिका निर्वाह गर्ने सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरिन् । राससले गुणस्तरीय सामग्री उत्पादनमा जोड दिएर देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत विश्वका अन्य समाचार एजेन्सीसँगको प्रतिस्पर्धा गर्नसक्नुपर्ने बताइन् । अहिलेको डिजिटल युगमा आफूलाई समयनुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्नुपर्ने उनले उल्लेख गरिन् । यस कार्यमा मन्त्रालयकोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने पनि उनले बताइन् ।

“राससलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन श्रव्यदृश्य समाचार सेवालाई प्राथमिकता दिई यसका लागि आवश्यक जनशक्तिलाई तालिमको व्यवस्थापनका साथै आवश्यक साधनस्रोत र कर्मचारीको वृत्तिविकासमा सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउन चाहन्छु”, उनले भनिन्, “आफ्नो व्यावसायिक क्षमता अभिवृद्धि गर्दै आत्मनिर्भर बन्नेतर्फ पनि व्यवस्थापनसहितको रासस परिवारले विशेष ध्यान दिन आग्रह गर्दछु ।”

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १५:१०