१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माओवादी केन्द्रीय सदस्य चन्द्र बहादुर थापाविरूद्ध ७१ करोडको भ्रष्टाचार मुद्दा


७ फागुन, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य चन्द्रबहादुर थाप विरूद्ध झण्डै ७२ करोडको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले आइतबार विशेष अदालत काठमाडौँमा मेलम्ची खानेपानीमा भ्रष्टाचार गर्ने थापासहितका १८ विरूद्ध भ्रष्टाचार मुद्दा गर्ता गरेको हो ।

थापासँग अख्तियारले जम्मा ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपैया १९ पैसा बिगो मागेछ । उक्त मुद्दामा खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्षहरू, समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाता तथा निर्माण कम्पनीलाई प्रतिवादी बनाइएको छ ।

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको छ । आयोगले १८ जनाबाट ७ अर्बभन्दा बढी बिगो असुल गर्न माग गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा थापा मेलम्ची प्रभावित स्थानीयको तर्फबाट माओवादी कोटामा मेलम्ची खानेपानी विकास समितिको सदस्य भएका थिए । उनी भूमिगत कालदेखि नै परिवारसहित माओवादी अभियानमा लागेका व्यक्ति हुन ।

आयोजनामा निर्माण व्यवसायीसँग काम नै नगरी भुक्तानी दिएको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेशिन तथा अन्य सामग्रीको भाडाबापतको रकम कट्टा नगरी भुक्तानी दिएको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ । उनीहरूले ठेकेदारसँगको मिलेमतोमा एसियाली विकास बैंकबाट ऋणमा लिएको रकम सम्झौताविपरीत तथा कानूनले तोकेभन्दा बढी २० प्रतिशत दुई किस्तामा अतिरिक्त मोबिलाईजेसन पेश्कीबापत भुक्तानी गरेर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार ०८:५८