२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

कसरी स्वीकृत भयो केन्द्रीय सदस्य ऐन महरले दिँदै नदिएको राजीनामा ?


५ फागुन, काठमाडौँ । नेकपा (एमाले)ले केन्द्रीय सदस्यको राजीनामा कीर्ते गरेको पाइएको छ । सचिवलाय बैठकले राजीनामा नै नदिएका केन्द्रीय सदस्यको राजिनामा स्वीकृत गरेको भनेर गरेको प्रचारमा कीर्ते भएको तथ्य दैनिकीले प्राप्त गरेको छ । केन्द्रीय सदस्यद्धय ऐन महर र सिराज अहमद फारूकीको राजीनामा पार्टी सचिवालय बैठकले स्वीकृत गरेको भनेर फागुन ३ गते प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले एक प्रेस विज्ञप्ति जारी गरेका थिए । तर उनले विज्ञप्तिमा उल्लेख गरेको जस्तो ऐन महरले राजिनामा दिएर पार्टी बैठकले स्वीकार गरेको नभएको तथ्य दैनिकीले प्राप्त गरेको हो ।

यद्यपी राजीनामा स्वीकृत भनेर प्रेस विज्ञप्तिमा नाम राखिएका दुबै केन्द्रीय सदस्यको बारेमा पार्टीको सचिवालय बैठकमा छलफल भएको थियो । दैनिकीको सम्पर्कमा रहेका एमालेका एक सचिवालय सदस्यले पार्टी नेताहरूलाई थप क्षतिहुनबाट जोगाउन र सचेत भएर सुध्रिएर अघि जाउन भनेर सकारात्मक रूपमै राजीनामा स्वीकृतिको  चर्चा गरिएको बताए ।

यता विज्ञप्तिमा हस्ताक्षर गर्ने पार्टीका स्थायी कमिटी सदस्य एवं प्रचार विभागका प्रमुखसँग दैनिकीले राजीनामा नै नदिएको केन्द्रीय सदस्यको कसरी राजीनामा स्वीकृत भयो भनेर चासो राख्दा उनले पार्टीले राजीनामा मागेको र स्वीकृत गरेको दाबी गरे । उनले दैनिकीसँग भने, ‘उहाँले पार्टी जिम्मेवारी पूरा नगरेर र अनुशासनको पालना पनि नगरेपछि पार्टीले राजीनामा मागेको र स्वीकृत गरेको हो ।’ यद्यपी विज्ञप्तिमा राजीनामा स्वीकृत भएकोमात्र उल्लेख गरिएको थियो ।

पार्टी कामकै शिलशिलामा बझाङको विभिन्न गाउँमा कार्यक्रम गरेर तीन सातादेखि घुमिरहेका महरको राजिनामाको विषय विज्ञप्तिमा आएपछि दैनिकीले एमालेका सबैभन्दा कान्छो केन्द्रीय सदस्यको राजिनामा, रहर कि बाध्यता ? शीर्षकमा विज्ञप्तिको आधारमा समाचार बनाएको थियो । महरले भने शनिबार सामाजिक सञ्जाल मार्फत अबको अभियान पार्टी शुद्धिकरण रहेको र त्यसका लागि संघर्ष र रूपान्तरण हुने बताएका छन । उनले सामाजिक सञ्जालमा लेखेको टिप्पणी तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार २०:४१

https://srdb.com.np/