२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

सबै भाषा, जाति र क्षेत्रमा लोकगीत लोकप्रियः प्रधानमन्त्री प्रचण्ड

५ फागुन, धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताएक्राा छन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा शनिबार आयोजित खुला लोकदोहोरी प्रतियोगिताको धादिङको वेनीघाटमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै भाषा, जातिमा र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको बताए ।

“लोकसाहित्य युगौँदेखि जनसाधारणको मौखिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ । लोक साहित्यअन्तर्गत प्रमुख विधाको रूपमा लोकगीत सबैभन्दा सम्पन्न भएको विधा हो,” प्रधानमन्त्रीले भने “नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको छ । नेपालको मेचीदेखि महाकालीका साथै नेपालबाहिर समेत फैलिएर रहेको लोकगीत यहाँका हरेक संस्कृति, प्राकृतिक सौन्दर्य, जनजीवनका हरेक घटना, दुःख–सुखका सम्पूर्ण भोगाइहरू नै लोक गीतको प्रमुख विषयवस्तु भएर आउने गर्दछ ।”

हिमाल, पहाड र तराई–मधेशको जीवनपद्धति आ–आफ्नै हुने गरेको बताउँदै प्रधानमन्त्रीले जीवनपद्धतिका आधारमा संस्कृतिको विकास हुँदै जाने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ सांस्कृतिक विविधताको प्रमुख आधार पनि जातीय, भाषिक, सामुदायिक र भौगोलिक विविधता नै हो । यसको सम्मान गरेर मात्र हामीले सही अर्थमा राष्ट्रिय संस्कृतिको विकास गर्न सक्छौँ ।”

प्रकाशित मिति : 15:11