११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो नगर युवा सम्मेलन


५ फागुन, सप्तरी । सप्तरीको खडक नगरपालिकामा आयोजित नगरस्तरीय युवा सम्मेलन शनिवार सम्पन्न भएको छ । ‘समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ आयोजित सम्मेलन ​युवामैत्री नगरपालिका निर्माणका लागि १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

राष्ट्रिय युवा परिषद् सानोठिमीको समन्वय तथा नगर कार्यपालिकाको आयोजनामा जिल्लाको कल्याणपुरमा नगरस्तरीय युवा सम्मेलन सम्पन्न भएको हो । सो क्रममा नगरपालिकामा नवगठित नगरस्तरीय युवा सञ्जालले युवामैत्री नगरपालिका निर्माणका लागि नगरस्तरीय युवा सम्मेलनमा युवा क्लबका अध्यक्ष पल्हाद चौधरीले नगर प्रमुख जयप्रकाश चौधरीलाई घोषणापत्र हस्तान्तरण गरेका छन् ।

नगरपालिकाका १६ देखि ४० वर्षसम्मका युवाको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले नगरपालिकास्तरीय युवा परिषद् गठन गर्ने, नगरपालिकास्थित सडकका अनाथ एवं असहाय बालबालिकाको सुरक्षा, हकहित संरक्षण र भविष्य सुनिश्चित गर्न नगरस्तरीय बालगृह स्थापना गर्नुपर्ने, नगरपालिकाका युवालाई उद्यमी बनाउन युवा स्वयंसेवा गर्न प्रतिबद्ध रहेको हुँदा नगरस्तरीय उद्योग तथा व्यवसाय सञ्चालन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै घोषणापत्रमा युवामैत्री नगरपालिका बनाउन आवश्यक सूचकाङ्क पूरा गरी आव २०८०र८१ भित्र नगरपालिकालाई युवामैत्री घोषणा गरिनुपर्ने, नगरपालिकामा खेलकुद र मनोरञ्जन क्षेत्रलाई व्यवस्थित र थप प्रभावकारी बनाउन खेलमैत्री वातावरण, खेलमैदान, खेलकुद सामग्री र अनुभवी प्रशिक्षकको जगेर्ना गरिनुपर्ने, नगरपालिकाका युवा विद्यार्थीलाई आवश्यकता र प्राथमिकताअनुसार प्रशासनिक निकाय, निजामती सेवा तथा सरकारी कार्यालय व्यस्थापनतर्फ आकर्षित पार्न निःशुल्क लोक सेवा कक्षाको व्यवस्था गरिनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, नगरपालिकाका किसानलाई प्राथमिकताअनुसार मलखाद, बीउ–बिजन, कृषि सामग्रीको उचित समयमा व्यवस्थापन गर्दै आवश्यकताअनुसार सिँचाइको व्यवस्था गरिनुपर्ने, नगरपालिकाको माविस्तरको शिक्षालाई गुणस्तरीय, व्यावसायिक एवं उद्यमशीलता मूलक बनाइनुपर्ने उल्लेख छ ।

यसैगरी, नगरपालिकामा विद्यालय अव्यवस्थित रहेका र ५० मिटरभित्रमा कुनै पनि किसिमको सुर्तीजन्य पदार्थ, मादक पदार्थ, लागुऔषध किनमेल गर्न नपाइने घोषणापत्रमा उल्लेख छ । साथै नगरपालिकाका धुम्रपान एवं लागुऔषध दुर्व्यसनीमा फसेका युवाका लागि सुधार केन्द्रको स्थापना गरिनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार १३:०९