१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वुमेन्स प्रिमियर कपमा मलेसियासँग पराजित भएसँगै नेपाल सेमिफाइनलबाटै बाहिरियो


४ फागुन, काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । जितका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान दिइन् । उनले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताएकी हुन् । तेस्तै मास एलिसाले १३ रन जोडदा महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन् ।

नेपालका लागि सीता रानामगर र कविता जोशीले समान दुई/दुई विकेट लिए भने रुविना क्षेत्री र कविता कुँवरले समान एक/एक विकेट लिए ।त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो ।

नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाइन् । सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन् । कविता कुवरले ३१ बलमा २ चौकासहित २३ रन बनाइन् भने रुविना क्षेत्रीले १८ बलमा २ चौकासहित २० रन जोडीन् ।

मलेसियाकी महिराह इजाती इस्मालील २ विकेट लिइन् भने विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् । आजै भएको अर्को सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ । यो जितसँगै मलेसिया र युएई एसिया कपमा छनोट भएका छन् । नेपाल भने प्रतियोगिताबाट बहिरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १५:०५