एनआईसी एशिया बैंकसहित ७ वाणिज्य बैंक ‘बी’ वर्गमा
४ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको सार्वजनिक गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार संगठित संस्थाहरुको वर्गीकरण गरेको हो।
नेप्सेले सूचीकृत कम्पनीहरुलाई ‘ए’ ‘बी’ ‘जी’ र ‘जेट’ वर्गमा वर्गीकरण गर्दै आएको छ । ३१ वटा कम्पनीहरु ‘ए’ वर्गमा परेका छन् । ‘बी’ वर्गमा ३५, ‘जी’ वर्गमा ७० र ‘जेड’ मा १३५ कम्पनी रहेका छन् । ‘ए’ वर्गमा ८ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, एक फाइनान्स कम्पनी, ६ माइक्रोफाइनान्स र ३ वटा हाइड्रोपावर लगायत कम्पनी रहेका छन् ।
त्यस्तै, ‘बी’ वर्गमा ३५ वटा कम्पनी रहेका छन् । जसमा ७ वटा वाणिज्य बैंक नै रहेका छन् । जसमा हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनआईसी एशिया, एनएमबि र प्राइम बैंक रहेको छ । साथै, ‘बी’ वर्गमा २ वटा विकास बैंक, ६ वटा फाइनान्स कम्पनी, २ वटा लघुवित्त, १४ वटा जलविद्युत कम्पनी, ३ वटा होटेल समूहका कम्पनी र एउटा अन्य समूहका कम्पनी छन्।
यस्तै ‘जी’ समूहमा ७० कम्पनी र १३५ वटा कम्पनी जेट’समूहमा परेका छन् । सार्वजनिक गरिएको वर्गीकरणमा परेको संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबी गर्न नेप्सेले अनुराेध गरेकाे छ ।
प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १२:१३












