१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमालेले ‘कार्यकर्ता आधारित पार्टी’ बनाउन छलफल गर्ने, ओली आधारित पद्धती संकटमा


४ फागुन, काठमाडौँ । नेकपा (एमाले)ले ‘कार्यकर्ता आधारित पार्टी’ बनाउन छलफल गर्ने भएको छ । यद्यपी एमालेले विगतदेखि नै आफूलाई कार्यकर्ता आधारित पार्टी नै भन्दै आएको छ । विगतमा त्यस्ता गतिबिधि भए पनि पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली आधारित भएर अघि बढेको थियो ।

केही वर्षसम्म ओली आधारित भएर अघि बढेको एमालेले पार्टी सचिवालयको २७औं बैठकबाट केन्द्रीय कमिटीको सातौं पूर्ण बैठकमा ‘कार्यकर्ता आधारित पार्टी’ बनाउने विषयमा छलफल गर्ने निर्णय गरेको हो । एमालेका पछिल्लो गतिबिधि ओली ब्राण्डिङमा केन्द्रीत भएको थियो । आफैँ स्थापति ओलीलाई ब्राण्डिङ गर्ने नाममा भएका गतिबिधले केहीले रोजागरी पाएको भएपनि अझै बलियो ब्राण्ड बनाउन खास योगदान नपुगेको केन्द्रीय कार्यालयतिरै चर्चापरिचर्चा हुने गरेको छ ।

ओली आधारित पद्धतीले पार्टी थप संंकटतर्फ धकेलिएको नेताहरूको निष्कर्ष छ । यद्यपी ओलीको सन्दर्भमा मुख खोल्दा सडकमा पुग्ने डरले बोल्न डराउने गरेका छन । कर्णाली प्रदेश कमिटीको निर्वाचित उपसचिव माथि केन्द्रले गरेको हस्तक्षेप र धादिङ जिल्ला अधिवेशन नै कु गरेर भएका गतिबिधिलाई उदाहारण मानेर पनि यसमाथि चर्चापरिचर्चा हुन थालेको छ ।

ओली ब्राण्डिङमा एमाले केन्द्रीत हुँदा पार्टीमा मूल्यांकनको आधार नै ओलीलाई ‘बा’ भन्ने र गणेश प्रवृत्ति अंगालेर नेताहरूको दैलो चाहर्नुपर्ने बनेको थियो । अब एमालेले फेरि कार्यकर्ता आधारित पार्टी बनाएर नेताको कुरा कार्यकर्ता र कार्यकर्ताको कुरा नेताले सुन्ने गरी पद्धतिको विकास गर्न खोजेको देखिन्छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक यही फागुन ८, ९ र १० गते तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमै गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा पार्टी शुद्धीकरण र सुदृढीकरणका विषयमा पनि छलफल हुने घोषित कार्यसूची तय भएको छ ।  साथै बैठकमा देश र जनताका सरोकारका विषयमा दवाव सिर्जना गर्न जनपरिचालन गर्ने विषयमा पनि छलफल गरिने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको नाममा जारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । तस्बिरहरूः दिनेश भण्डारी, ओलीको सचिवालय ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार ०७:५२