१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने

३ फागुन, काठमाडौँ ।  ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।

परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिए । उनले भने, “शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्नेछन ।”

परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षाका दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुनेछ ।

परीक्षा समयभन्दा एक घण्टा अगाडि परीक्षा हलमा ‘ओरेन्टेसन’ शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कडेलले बताए । परीक्षामा मोबाइलफोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ ।

यसैगरी परीक्षामा अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिनेछ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६४ हजार सात सय १६ जनाले आवेदन दिएका जनाइएको छ ।

प्रकाशित मिति : February 15, 2024 at 5:26 pm