घोराही सिमेन्ट ४१ करोड ८४ लाख नोक्सानमा, प्रतिसेयर आम्दानी ऋणात्मक
२ फागुन, काठमाडाैँ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेकाे थियो।
यो अवधिसम्ममा कम्पनीले ४१ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी १ करोड ५४ लाख रुपैयाँ नाफामा रहेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४६.७७ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९८.८७ प्रतिशत घटेको छ।
४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ९.१६ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा रहेको छ।
प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०९:४४












