९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

पर्थमा मनाईयो सोनाम ल्होसार

अष्ट्रेलिया । अष्ट्रेलियाको पर्थमा सोनाम ल्होसार भव्य रुपमा मनाइएको छ। तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ पर्वका रुपमा सोनाम ल्होसार मनाउने गर्दछन्।

मञ्जुश्री पात्रोअनुसार शनिबारबाट २८६० औं वर्ष सुरु भएको छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। पर्वको अवसरमा एक कार्यक्रमको आयोजना गरी पर्थमा तामाङ सोसाइटी अफ पर्थ बेस्टर्न अष्ट्रेलियाले खरायो वर्षलाई बिदाई गरी ड्रागन (मेघ) वर्षलाई स्वागत गरेको छ । 

औपचारिक र साङ्गतिक गरि दुइ सत्रमा भएको कार्यक्रम सोसाईटीकी  अगुवा विमु तामाङको सभापतित्वमा भएको तामाङ सहित नेपालको विविधता झल्कने सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको कार्यक्रमको सन्चालन पुष्प तामाङले गरेका थिए  |  सोसाइटीले पर्थमा यो वर्ष बाट औपचारिक सोनाम ल्होसार मनाउन शुरु गरेको छ। कार्यक्रमको प्रारम्भ गर्दै संचालक तामाङले प्रवासमा पनि मौलिक संस्कृतिको संरक्षण र प्रचार प्रसारका लागि कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा ऐतिहासिक र सांस्कृतिक महत्व राख्ने तामाङ सेलो लगायत तामाङ संस्कृति  झल्किने नृत्य तथा गितहरु प्रस्तुत गरिएको थियो |

कार्यक्रममा एनआरएनए आइसिसिका सल्लाहकार भैरब ढकाल, एनआरएनए अष्ट्रेलियाका पुर्व उपाध्यक्षहरु कृष्णमान श्रेष्ठ र दिपक बस्नेत, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा वेष्ट्रन अष्ट्रेलियाका संयोजक शेखर घिमिरे, नावाका सह कोषाध्यक्ष रुद्र भण्डारी, मन्दिर समितीका अध्यक्ष बिनोद दहाल, ओएनएफ वेष्टन अष्ट्रेलियाका सचिव गोपाल घिमीरे ,  ग्लोवल एजुकेसनको सन्चालक याम केसी लगायतका  सामजिक व्यक्तित्वहरु उपस्थिति रहेको थियो ।

सांगितिक तथा मनोरन्जनात्मक कार्यक्रमको सन्चालन कर्मा लामा र अनु लामाले गरेका थिए ।  उक्त कार्यक्रममा गायक रमेश गोम्जा, जगत ग्यावा, प्रकाश माम्वा, प्रकाश घिसिङ, सुर्य लामा साथै अन्य गायक गायिकाले आफ्नो प्रस्तुति दिएका थिए भने नृत्यकारहरु सोनी योन्जन, बिपना पाख्रिन, सन्ध्या लामा, ललित लामा, एमी मगर, समृध्दि योन्जन , रीका हमाल, विपना लामा, नमीता तामाङ लगयतको आकर्षक प्रस्तुति रहेको थियो | कार्यक्रमको अन्त्यमा कार्यक्रमका सहयोगीहरुलाई  सम्मान  गरिएको थियो |

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले तामाङ समुदायलाई प्रकृति पुजक मानिन्छ । तामाङ समुदायले माघ कृष्ण औँसीका दिन बेलुकी घर घरमा दीपावली गरी ल्होछारको नयाँ वर्षलाई स्वागत गर्छन् । नेपालमा बिहानै स्नान गरी घर सफा सुग्घर गरी पूजाआजा गरेर मान्यजनबाट टीका एवं आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ |

`ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।

नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक-फरक समयमा ल्होछार मनाउने चलन छ ।

प्रकाशित मिति : February 13, 2024 at 12:44 pm