१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

काठमाडौँ मै शिक्षक माग्दै विद्यार्थी आन्दोलनमा

४ मंसिर,साँखु । काठमाडौँको थलीस्थित कान्तिपुर क्याम्पसमा विषयगत शिक्षकको माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

वार्षिक उत्सव कार्यक्रममा आज क्याम्पसको शैक्षिक अवस्था दिनानुदिन खस्किँदै गएको, विषय अनुसारको शिक्षक नभएको तथा समयमा शिक्षक कक्षामा नआउने भन्दै ११, १२ कक्षासहित स्नातक तहका विद्यार्थी आन्दोलनमा उत्रेका हुन् ।

क्याम्पसका स्ववियु सभापति पल बज्राचार्यले विद्यार्थीको भविष्यमाथि खेलबाड् भएको भन्दै स्रोतसाधनका साथै विषयगत शिक्षकको माग गरिएको हो भन्नुभयो । बज्राचार्यले प्रशासनमा आर्थिक पारदर्शिता नभएकैले विद्यार्थीलाई चाहिने स्रोतसाधन जुटाउन नसकेको भन्दै विद्यार्थी युनियनको नेतृत्वमा क्याम्पसको प्रशासन सुधार्न र शैक्षिक गुणस्तर बढाउन माग गरेको बताउनुभयो ।

करीब ४०० विद्यार्थी रहेको सो क्याम्पसमा विषयगत शिक्षक नहुँदा पठनपाठनमा अवरोध पुगेको विद्यार्थीको गुनासो छ । कक्षा १२ मा अध्ययनरत निशा गहतराज भन्नुहुन्छ, “ कक्षा ११ मा हामीले पत्रकारिता विषयको एक पृष्ठ पनि पढाउने शिक्षक पाएनौँ, विना शिक्षक अहिले पनि १२ कक्षा पढिरहेका छौँ के बुझेर परीक्षा दिने आफै अन्योलमा छौ ।”

विरोध कार्यक्रममा पुग्नुभएका नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुमन पाण्डेले विद्यार्थीको गुनासोका बारेमा क्याम्पसलाई ध्यानाकर्षण गराउँदै जायज माग पूरा गर्न प्रशासनलाई आग्रह गर्नुभयो । तत्कालै विद्यार्थीका समस्या हल गर्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने क्याम्पस प्रमुख शैलेन्द्रप्रसाद कुँईकेलले बताउनुभयो ।

प्रकाशित मिति : November 20, 2018 at 2:47 pm