२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

गृह मन्त्रालयले भन्योः राजपत्रमा प्रकाशित फागुन १ को विदा कायम रहेन


२९ माघ, काठमाडौँ । वर्तमान सरकारले महत्वपूर्ण सफलता मानेर पुस २७ को पृथ्वी जयन्तीसँग साटेको फागुन १ को जनयुद्ध दिवस भनेर दिने भनिएको विदा नहुने निश्चित भएको छ । पुस १३ मा सर्वोच्च अदालतले दिएको आदेश अनुसार विदा कायम नरहेको भनेर सोमबार गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले यसको जानकारी दिएका छन ।

वर्तमान सरकारले जनयुद्ध दिवस थप्न पाउने भएपछि राप्रपाको मागमा पुस २७ को पृथ्वी जयन्तीको विदा स्वीकार गर्दै राजपत्रमा समावेश गरेको थियो । तर पुस १३ गते शुक्बार सर्वोच्च अदालतले सरकारले  फागुन १ गते जनयुद्ध दिवसका दिन दिने भनेको सार्वजनिक बिदालाई बदर गरेको थियो ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने गठबन्धन सरकारको निर्णयलाई बदर हुने फैसला गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘…जनयुद्ध दिवसको अवसरमा भनी देशभर सार्वजनिक बिदा दिने नेपाल सरकारको मिति २०७९।१०।२९ को निर्णय र यस वर्षमासमेत मिति २०८०।११।१ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति २०७९।१२।२ मा प्रकाशित सूचना एवम् सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरूसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ ।’

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १३:४१