२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

पवनले उत्पादन गरेको सात फिट लामो तरूल प्रदर्शनीमा


२७ माघ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १० का किसान पवन पाैडेलले सात फिट लामो तरूल उत्पादन गरेका छन । पाैडेलले उत्पादन गरेको लामो तरूल अहिले सदरमुकाम विदुरमा प्रदर्शनीमा राखिएको छ । नुवाकोट महोत्सवको अवसर पारेर बेलकोटगढी नगरपालिकाले पवनले उत्पादन गरेको तरूल प्रदर्शनीमा राखेको हो ।

व्यवसायिक रूपमा कृषि पेशामा लागिरहेका पवनलेले विभिन्न कृषि उपजहरू उत्पादन गर्दै आएको बेलकोटगढी नगरपालिकाका कृषि प्राविधिक विनोद पौडेलले दैनिकीलाई जानकारी दिए । उनले ७ फिट लम्बाइ रहेको तरूल उत्पादन गरेको जानकारी दिए ।

नुवाकोट महोत्सवमा प्रदर्शनीमा राखिएका कृषि उपजको तरूलमा पवनले उत्पादन गरेको तरूल सबैभन्दा लामो रहेको विनोदले दाबी गरे । उनले नगरपालिकाले कृषकलाई प्रोत्साहित गर्न उनीहरूको उत्पादन संकलन गरेर प्रदर्शनीमा राखिएको जानकारी दिए । प्रदशर्नीमा विभिन्न गाउँमा किसानले उत्पादन गरेका कृषि उपज लगायत राखिएको छ ।

माटोमुनी फल्ने तरूल नेपाली बजारमा पुस, माघ र फागुन महिनामा उपलब्ध हुने गरेको छ । यो तीन महिना तरूलकै सिजनको रूपमा रहेको छ । तरूलाई औषधिमुलक तरकारी पनि भनिन्छ । अनुसन्धानकर्ताहरूले तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेड पाइने हुनाले शक्तिको प्रमुख स्रोत समेत मानेका छन । त्यस्तै छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि र तरुलमा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याका लागि समेत उपयुक्त हुने अनुसन्धानकर्ताहरूको दाबी रहेको छ ।

(यसअघि पवनको भनेर उनको बुबाको तस्बिर प्रयोग भएकोमा क्षमायाचनासहित सच्याएका छाैँ ।-प्रधानसम्पादक)

बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का किसान गोविन्द भट्टले उत्पादन गरेको केरा ।
बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का किसान जनार्दन तिवारीले उत्पादन गरेको अलैँचीको बोट ।
बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का किसान विकास ढकालले उत्पादन गरेको मुला ।
बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का किसान कमल लामाले उत्पादन गरेको कन्य च्याउ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार १६:२३