११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

ओएनएफ अन्तर्राष्ट्रिय कमिटीको बैठक मलेशियामा आज र भोली

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको बैठक मलेशियाको राजधानी क्वालालाम्पुरमा फेब्रुअरी १० र ११ हुने भएको छ ।

विश्व भरिबाट अनलाईन मार्फत बैठक बस्दै आएको मञ्चले नेपाल बाहिर पहिलो पटक फेस टु फेस मिटिङ गर्न लागेको हो ।

ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेका अनुसार भौतिक उपस्थितिमा हुन लागेको उक्त बैठकमा आफ्नो कार्यकालको समिक्षा सहित भावी कार्ययोजनाका लागि छलफल हुने कार्यक्रम रहेको छ ।

बैठक नेकपा एमालेका विदेश बिभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यता हुने भएको छ ।

उपाध्यक्ष पाण्डेका अनुसार आफ्नो कार्यकालको एक बर्ष पुगेको अवसरमा समिक्षा र भावी रणनीति बनाउन मलेसियामा बिश्वभर रहेका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको भौतिक उपस्थिति रहने छ ।

पाण्डेले प्रवासमा क्रियाशिल ओएनएफले मातृभूमि र प्रवासमा रहेका नेपालीहरुका लागि गर्ने योगदानको चर्चा हुने र भोलिका दिनमा गर्ने कामको रणनीति बनाउने हुदा बैठक सार्थक हुने अपेक्षा राखेको बताए ।

बैठक लगत्तै ओएनएफ मलेसियाको आयोजना तथा ओएनएफ पूर्वी एसिया महादेश कमिटीको सहकार्यमा कार्यकर्ता प्रशिक्षण एंव साँस्कृतिक कार्यक्रम फेब्रुअरी ११ तारिखका दिन क्वालालम्पुरमा अवस्थित होटेल ग्रेण्ड कन्टिनेन्टलमा हुने भएको जनाईएको छ ।

उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा ने.क.पा एमाले विदेश बिभाग प्रमुख तथा प्रवास ईन्चार्ज डा. भट्टराई सहित ओएनएफका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यसै गरि सांस्कृतिक कार्यक्रममा कलाकारहरु जीवन शर्मा, जीवन दाहाल, सुमन थापा मगर, आशा बिसि लगायतका कलाकारहरुको प्रस्तुती हुने समेत आयोजकहरुले जनाएका छन् ।

प्रकाशित मिति : February 9, 2024 at 4:10 am