२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

अपहरण गरेर ७ लाख फिरौती मागेको आरोपमा नुवाकोटका दुई जना पक्राउ


२५ माघ, काठमाडौं। अपहरण गरी फिरौती मागेकाे आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ४ का सुर्यबहादुर तामाङलाई बन्धक बनाई ज्यान मार्ने धम्की दिई ठुलो रकम माग गर्ने नुवाकोटकै दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ककनी गाउँपालिका -४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका -८ बस्ने २४ वर्षीय चन्द्रबहादुर तामाङ रहेका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

खड्काका अनुसार माघ २२ गते सूर्यबहादुरलाई राति साढे १० बजे एक जना सिकिस्त बिरामी रहेकाले उपचारका लागि अस्पताल लान सहयोग गरिदिन भन्दै फोन आएको थियो। अस्पताल लैजानुपर्यो भन्दै फोन आएपछि उनी आफ्नो बा ६ ज ७७७९ नम्बरको सुजुकी अल्टो गाडी लिएर हिँडेका थिए। ककनी गाउँपालिका वडा नम्बर ४ काउलेदेखि ककनी जाने सडकबीच एकान्त स्थानमा अचानक दुई जना अपरिचित व्यक्तिले बाटो छेकेर सूर्यबहादुरको गाडीभित्र छिरेर उनलाई गाडीभित्रै आँखामा पट्टी बाँधेर बन्धक बनाएको डिएसपी खड्काले बताए। दुई जनाले उनलाई ज्यान मार्ने धम्की समेत दिएको प्रहरीले जनाएको छ।

उनीहरूले सूर्यबहादुरसँग फिरौती मागेका थिए। पहिले ठूलो रकम माग गरेको र पछि ७ लाखमा छाडिदिने सहमती भएको थियो। काठमाडौंमा फिरौती  रकम दिने सहमती अनुसार सूर्यबहादुरका आफन्तले ७ लाख जम्मा गरेसँगै प्रहरीलाई पनि खबर गरेको थियो। नुवाकोट प्रहरीले प्रहरी वृत्त बालाजुसँग सहयोग लिएर माघ २३ गते मंगलबार फिरौती लिन आएका दुई जनालाई माछापोखरीबाट पक्राउ गरेको हो।

सोही दिन बन्धक बनाइएका सूर्यबहादुर पनि सकुसल अपहरणमुक्त भएको प्रहीले जनाएको छ । प्रहरीले पक्राउ परेका उनीहरूलाई सात दिन हिरासतमा राख्न जिल्ला अदालत नुवाकोटबाट अनुमति पाएको छ। साथै, घट्नामा संलग्न अन्यको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १३:३०